काठमाडौं – नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। सरकारद्वारा सञ्चालन गरिएको खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट उनी परिषद्को रजिस्ट्रारमा नियुक्त भएका हुन्।
नियुक्तिपछि थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अब उनले परिषद्को प्रशासनिक नेतृत्व सम्हाल्दै संस्थाको नियमित कार्य सञ्चालन गर्नेछन्।
रजिस्ट्रार नियुक्तिका लागि सरकारले सार्वजनिक रूपमा आवेदन माग गरेको थियो। त्यसपछि कार्यपत्र प्रस्तुति, अन्तर्वार्ता तथा अन्य मूल्याङ्कन प्रक्रियाका आधारमा थापालाई उक्त जिम्मेवारीका लागि छनोट गरिएको हो।
नेपाल फार्मेसी परिषद् फार्मेसी पेशाको नियमन, दर्ता तथा मापदण्ड कार्यान्वयन गर्ने प्रमुख निकाय हो। नवनियुक्त रजिस्ट्रार थापाले परिषद्को सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


























































