काठमाडौं- एप्पल, एचपी, डाइसन र डेललगायत अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन बिक्री गर्दै आएको जेननेक्स्ट मोटर्सले चिनियाँ अटोमोबाइल कम्पनी भीअटोको सब–ब्रान्ड होनरी बोमा ईभी नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले नयाँ विद्युतीय कार आगामी साउन २६ गतेदेखि काठमाडौंमा आयोजना हुने नाईमा नेपाल मोबिलिटी एक्स्पोमार्फत सार्वजनिक गर्ने जनाएको छ।
पाँच ढोके डिजाइनमा उपलब्ध हुने यो मिनी ईभीको प्रारम्भिक मूल्य २० लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार आधुनिक डिजाइन, किफायती मूल्य र सहरी जीवनशैलीलाई लक्षित गरी तयार गरिएको यो गाडी नेपाली ग्राहकका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।
होनरी बोमा ईभीमा ३५ किलोवाट क्षमताको विद्युतीय मोटर र २९.९ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ३०० किलोमिटरसम्म यात्रा गर्न सक्छ भने सामान्य घरायसी विद्युत् लाइनबाट पूर्ण चार्ज हुन करिब ७ घण्टा लाग्छ।
पाँच सिट क्षमता रहेको यो गाडी कम्प्याक्ट डिजाइन, फराकिलो भित्री भाग र सहज पार्किङ सुविधाका कारण सहरी आवतजावत, व्यक्तिगत तथा पारिवारिक प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।
जेननेक्स्ट मोटर्सका सञ्चालक रक्षित भिमसारियाले नेपाली उपभोक्तालाई स्मार्ट, सुरक्षित, किफायती र वातावरणमैत्री यातायातको विकल्प उपलब्ध गराउने उद्देश्यले होनरी बोमा ईभी ल्याइएको बताए। उनले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता र प्राविधिक सहयोगलाई पनि प्राथमिकता दिइने जानकारी दिए।
कम्पनीका अनुसार नाईमा नेपाल मोबिलिटी एक्स्पोमा आगन्तुकले गाडीको प्रत्यक्ष अवलोकन गर्न, यसको विशेषताबारे जानकारी लिन तथा परीक्षण ड्राइभका लागि दर्ता गर्न सक्नेछन्। कम मूल्य, आधुनिक प्रविधि र ३०० किलोमिटर रेन्जका कारण होनरी बोमा ईभी नेपाली विद्युतीय सवारी बजारमा नयाँ विकल्प बन्ने अपेक्षा गरिएको छ।


























































