काठमाडौं – एमबीबीएस तथा बिडिएस एकवर्षे इन्टर्नसिप कार्यक्रममा संलग्न इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै हरिजनले जारी अनशन अन्त्य गरेका छन्।
सहमतिअनुसार स्वास्थ्य सेवाको आठौं तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबरको निर्वाह भत्ता सरकारी तथा निजी मेडिकल कलेजमा समान रूपमा लागू गर्ने विषयमा सम्बन्धित निकायबीच थप छलफल गरिने भएको छ। साथै, यस विषयमा आवश्यक निर्णयका लागि चिकित्सा शिक्षा आयोगमा एजेन्डाका रूपमा प्रस्तुत गरिने सहमति भएको छ।
यस्तै, इन्टर्न चिकित्सकको कार्यघण्टा, अतिरिक्त शुल्क नियन्त्रण, श्रम ऐनअनुसार कार्यसमय कार्यान्वयन तथा छात्रावासलाई अनिवार्य नभई वैकल्पिक बनाउने विषयमा पनि सरोकारवाला निकायबीच छलफल अघि बढाइने सहमतिपत्रमा उल्लेख गरिएको छ।
सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा रहेको वार्ता टोलीले सहमतिपत्रमा हस्ताक्षर गरेको हो। त्यसपछि इन्टर्न चिकित्सक डिल्ली हरिजनले आफ्नो अनशन स्थगित गरेका छन्।



























































