काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी थप कमजोर बन्न सक्ने भन्दै आफूहरूले त्यसअघि नै सचेत गराएको बताएका छन्।


ADVERTISEMENT


आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सिंहले अब नियमित महाधिवेशनको समय आइसकेकाले त्यसैमार्फत पार्टीको नेतृत्व चयन गर्नुपर्ने धारणा राखे। उनका अनुसार नियमित महाधिवेशनमा लोकप्रिय र कार्यकर्ताको विश्वास जितेको नेताले नेतृत्वमा पुग्ने अवसर पाउँदा पार्टी बलियो बन्न सक्छ।


ADVERTISEMENT

# # #


सिंहले भने, ‘हामीले विशेष महाधिवेशन नगरौं, यसले पार्टी कमजोर हुन्छ भनेकै थियौं।’ विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्ने आफ्नो पक्षको धारणा रहेको उनले बताए।

सर्वोच्च अदालतको पछिल्लो आदेशको प्रसंग उठाउँदै सिंहले विशेष महाधिवेशनमा विधि र प्रक्रिया पालना नभएको अदालतले समेत औंल्याएको दाबी गरे। निर्वाचन आयोगले पनि अर्को पक्षको कुरा नसुनी निर्णय गरेको उनको आरोप छ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादतर्फ संकेत गर्दै सिंहले अब न्यायिक प्रक्रियाबाट आफ्नो पक्षले न्याय पाउने विश्वास व्यक्त गरेका छन्। उनले अदालतको पछिल्लो कदमले आफूहरूको दाबीलाई बलियो बनाएको समेत बताएका छन्।

विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर कांग्रेसभित्र लामो समयदेखि देखिएको विवादका बीच सिंहको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्रको विवाद समाधान गर्दै नियमित महाधिवेशनतर्फ अघि बढ्नुपर्ने उनको जोड छ।