काठमाडौं- नाबालिगको डिम्ब निकालिएको भनिएको प्रकरणमा आरोपित स्त्रीरोग विशेषज्ञ डा। नुतन शर्मा प्रहरीसमक्ष उपस्थित भएर बयान दिएकी छन्।
विदेशमा रहेकाले यसअघि उपस्थित हुन नसकेको बताएकी शर्मा नेपाल फर्किएपछि साउन २१ गते आफैं जिल्ला प्रहरी परिसर ललितपुर पुगेकी हुन्। सरकारी वकिलको रोहबरमा बयान लिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको छ।
डा. शर्माले उपचारका क्रममा सेवाग्राहीको उमेर २१ वर्ष उल्लेख भएको नागरिकताको कागजात अस्पतालमा पेस गरिएको र त्यही आधारमा उपचार गरिएको दाबी गरेकी छन्। आफूलाई सेवाग्राही नाबालिग भएको जानकारी नभएको उनको भनाइ छ।
यता, प्रहरीले भने उमेर खुलाइएको कागजातको आधिकारिकता, अस्पतालको दर्ता प्रक्रिया, रकम कारोबार तथा घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।
यसअघि पीडित भनिएकी किशोरीका परिवारले आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालिएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए। प्रकरणमा पक्राउ परेकी २१ वर्षीया राधिका गोतामेलाई पनि हाजिरी जमानतमा छाडिएको छ।
अनुसन्धान जारी रहेकाले डा. शर्मामाथि लागेको आरोप पुष्टि भइसकेको छैन। अब गलत उमेरको कागजात कसले र किन प्रयोग गर्यो भन्ने विषय अनुसन्धानको मुख्य केन्द्र बनेको छ।


























































