काठमाडौं- नेपालको अग्रणी दुग्ध उत्पादक कम्पनी सिताराम गोकुल मिल्क्स प्रालिले उपभोक्तालाई थप सहज र आधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ।
कम्पनीले आगामी एक साताभित्र एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा आफ्नै मोबाइल एप समेत सार्वजनिक गर्ने जनाएको छ। कम्पनीको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रबन्ध निर्देशक सुमित केडियाको अध्यक्षतामा नयाँ डिजिटल प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको हो।
कम्पनीका अनुसार नयाँ वेबसाइट र आगामी मोबाइल एपमार्फत ग्राहकले घरमै बसेर दूध, घिउ, दही, पनिर, लस्सी, बटर तथा आइसक्रिमलगायत दुग्धजन्य उत्पादनबारे जानकारी लिन सक्नेछन्। उत्पादनको मूल्य, पोषण विवरण तथा उपलब्धता समेत डिजिटल माध्यमबाट हेर्न सकिने व्यवस्था गरिएको छ।
यस्तै, ग्राहकले अनलाइनमार्फत घरमै उत्पादन मगाउन सक्नेछन्। कम्पनीले सब्स्क्रिप्सन मोडलमार्फत नियमित रूपमा आफ्ना उत्पादन खरिद गर्न सकिने सुविधा समेत उपलब्ध गराएको जनाएको छ।
डिजिटल भुक्तानीलाई समेत प्राथमिकता दिँदै वेबसाइटमार्फत ई–सेवा र खल्तीलगायतका डिजिटल वालेटबाट सुरक्षित भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक सुमित केडियाले नयाँ डिजिटल प्लेटफर्मले उपभोक्तालाई उत्पादनको जानकारीदेखि अर्डर र डेलिभरीसम्मको सेवा थप सहज बनाउने बताए।
कम्पनीले गुणस्तरीय दुग्धजन्य उत्पादनलाई प्रविधिको प्रयोगमार्फत छिटो र प्रभावकारी रूपमा उपभोक्ताको घरदैलोसम्म पुर्याउने लक्ष्य राखेको जनाएको छ।


























































