काठमाडौं – अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को अवसरमा ‘Wellness for Youth–युवाका लागि आरोग्य’ मूल नारासहित जीवन विज्ञान प्रतिष्ठानको युवा वृत्तद्वारा आयोजित सप्ताहव्यापी अभियान सुरु भएको छ।
युवाको शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत विभिन्न विद्यालय, कलेज तथा विश्वविद्यालयमा लक्षित कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
अभियानको उद्घाटन जीवन विज्ञान परिषद्का सहसंयोजक सुनील बस्नेतले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन समारोहमा धीरज काफ्लेले सहभागीलाई ध्यान अभ्यास गराएका थिए।
कार्यक्रमअन्तर्गत आयोजित स्वेच्छिक रक्तदानमा ३१ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा तेजस्वी पन्तले गीत प्रस्तुत गरेकी थिइन् भने पुस्तिका पोखरेल, आकृति अधिकारी, सुशान्त विष्टलगायतले नृत्य प्रस्तुत गरेका थिए।
जीवन विज्ञान प्रतिष्ठानका सचिव किरण रूपाखेतीले युवाले आफ्नो प्रतिभा र क्षमता पहिचान गरी त्यसअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। उनले अभियानले युवामा सकारात्मक सोच, स्वस्थ जीवनशैली, नेतृत्व क्षमता र समग्र स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
साउन २४ देखि ३० गतेसम्म सञ्चालन हुने अभियानमा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई लक्षित गरी स्वजागरण ध्यान, योग र वेलनेससम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। अभियानको पहिलो दिन नै विभिन्न कलेजमा २ हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई ध्यान अभ्यास गराइएको आयोजकले जनाएको छ।


























































