काठमाडौं-  नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्ष पदमा युविका भण्डारीले उम्मेदवारी अघि सारेकी छन्। नाट्टाको पहिलो महिला अध्यक्ष अम्बिका श्रेष्ठले सुरु गरेको महिला नेतृत्वको यात्रालाई नयाँ पुस्तामा निरन्तरता दिने सम्भावनाका रूपमा भण्डारीको उम्मेदवारीलाई हेरिएको छ।


ADVERTISEMENT


भण्डारी नाट्टाको नेतृत्वमा नयाँ अनुहारका रूपमा आएकी भने होइनन्। उनले लामो समयदेखि नाट्टाभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै संस्थाको गतिविधि, सदस्यका समस्या तथा पर्यटन व्यवसायका चुनौतीलाई नजिकबाट बुझ्दै आएकी छन्। यही अनुभवलाई आधार बनाएर उनले अध्यक्ष पदका लागि आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।


ADVERTISEMENT

# # #


भण्डारीले ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने मूल अवधारणासहित आफ्नो अभियान अघि बढाएकी छन्। नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अझ बढाउन सरकार, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको धारणा छ।

पछिल्लो समय पर्यटन व्यवसाय प्रविधि, डिजिटल प्रणाली, अन्तर्राष्ट्रिय कनेक्टिभिटी तथा पर्यटकको बदलिँदो मागसँगै तीव्र रूपमा परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा नाट्टालाई व्यवसायीका समस्या सरकारसमक्ष उठाउने संस्थामा मात्र सीमित नराखी समस्या पहिचान, समाधानका लागि पहल र नीतिगत पैरवी गर्ने प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने भण्डारी पक्षको जोड छ।

उनले नाट्टाको डिजिटल पूर्वाधार विकास, सदस्यका गुनासा तथा समस्या छिटो सम्बोधन गर्ने प्रणाली, पर्यटन संस्थाबीच सहकार्य र सरकार–निजी क्षेत्रबीच समन्वयलाई प्राथमिकतामा राखेकी छन्। साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, नयाँ पर्यटन गन्तव्यको प्रवर्द्धन तथा वेलनेस टुरिजमजस्ता उदीयमान क्षेत्रको सम्भावना अध्ययन गर्ने योजना पनि उनको एजेन्डामा छ।

पर्यटन व्यवसायमैत्री नीति निर्माणका लागि सरकारसँग निरन्तर संवाद र तथ्य तथा अध्ययनमा आधारित पैरवी आवश्यक रहेको भण्डारीको धारणा छ। उनका अनुसार पर्यटन क्षेत्रलाई प्रतिस्पर्धी र दिगो बनाउन निजी क्षेत्रको आवाज नीतिनिर्माण तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक छ।

नाट्टामा महिला नेतृत्वको इतिहास भने पुरानै छ। नाट्टाको पहिलो महिला अध्यक्षका रूपमा अम्बिका श्रेष्ठले नेतृत्व सम्हाल्दै पर्यटन तथा ट्राभल व्यवसायको क्षेत्रमा महिलाहरू पनि संस्थाको सर्वोच्च नेतृत्व तहमा पुग्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी थिइन्। अहिले भण्डारीको उम्मेदवारीले त्यही यात्रालाई नयाँ पुस्तासम्म पुर्‍याउने अवसर सिर्जना गरेको छ।

यद्यपि भण्डारीको उम्मेदवारीलाई केवल महिला प्रतिनिधित्वको विषयमा मात्र सीमित नगरी उनको संस्थागत अनुभव, नेतृत्व क्षमता, कार्ययोजना र पर्यटन क्षेत्रप्रतिको दृष्टिकोणका आधारमा मूल्यांकन गर्नुपर्ने देखिन्छ।

नाट्टाको आगामी नेतृत्व चयनलाई पर्यटन व्यवसायीहरूले संस्थाको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरेका छन्। अनुभवसँग नयाँ ऊर्जा, संस्थागत निरन्तरतासँग परिवर्तन र परम्परासँग प्रविधिलाई जोड्ने लक्ष्यसहित भण्डारीको उम्मेदवारीले नाट्टाको आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र रोचक बनाएको छ।