काठमाडौं- एनसेलले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थालाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सार्वजनिक गरेको छ। नयाँ प्लेटफर्ममार्फत ग्राहकले एउटै स्थानबाट डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा लिन सक्नेछन्।


ADVERTISEMENT


नेपालमा व्यवसायहरू तीव्र रूपमा डिजिटल माध्यममा प्रवेश गरिरहेका बेला वेबसाइट निर्माण, डोमेन व्यवस्थापन र भरपर्दो वेब होस्टिङ सेवाको आवश्यकता बढ्दै गएको छ। यही आवश्यकतालाई लक्षित गर्दै एनसेलले स्थानीय सहयोगसहित क्लाउडसुइट सेवा ल्याएको जनाएको छ।


ADVERTISEMENT

# # #


क्लाउडसुइटमार्फत डोमेन दर्ता तथा नवीकरण, डोमेन ट्रान्सफरमा सहयोग, DNS व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनलगायतका सेवा उपलब्ध हुनेछन्।

यस सेवाको विशेषता ग्राहकले नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्नु हो। यसले विदेशी मुद्रा प्रयोग गरी अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाउने एनसेलको भनाइ छ। साथै, सेवा तथा डाटा होस्टिङ नेपालमै हुने भएकाले ग्राहकले आफ्नो वेबसाइट तथा डिजिटल सम्पत्तिमाथि थप नियन्त्रण राख्न सक्नेछन्।

एनसेल बिजनेस क्लाउडसुइटमा हाल दुईवटा प्याकेज उपलब्ध छन्। बेसिक प्याकेजको मासिक शुल्क १ हजार रुपैयाँ तोकिएको छ। यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल अकाउन्ट, एसएसएल प्रमाणपत्र, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा समावेश छन्।

त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित गर्दै प्रो प्याकेज मासिक २ हजार रुपैयाँमा उपलब्ध हुनेछ। यसमा थप स्टोरेज तथा डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल अकाउन्ट, १० वटा डेटाबेस तथा पाँचवटासम्म सबडोमेनको सुविधा उपलब्ध हुनेछ। प्रो प्याकेजमा पनि एसएसएल, स्वचालित ब्याकअप र सुरक्षा सुविधा समावेश गरिएको छ।

एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डियोन एसेन्सियोले क्लाउडसुइटको सुरुवाती चरणमा डोमेन र वेब होस्टिङलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार डोमेन र भरपर्दो वेब होस्टिङ डिजिटल यात्रामा प्रवेश गर्ने व्यवसायका लागि आधारभूत आवश्यकता हुन्।

एनसेलका अनुसार नेपालभित्रै होस्टिङ तथा डाटा रेसिडेन्सीको सुविधा उपलब्ध हुने भएकाले संस्थाहरूले आफ्नो वेबसाइटको डाटा र डिजिटल सम्पत्ति देशभित्रै राख्न सक्नेछन्। यसले डाटा नियन्त्रण बढाउनुका साथै सम्बन्धित नियामकीय आवश्यकताहरू पूरा गर्न समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ।

नयाँ सेवाले नेपालमा डिजिटल व्यवसाय सुरु गर्न चाहने साना तथा मझौला व्यवसाय, स्टार्टअप र उद्यमीलाई स्थानीय रूपमा सहज, व्यवस्थापन गर्न सजिलो र नेपाली मुद्रामा उपलब्ध वेब पूर्वाधार प्रदान गर्ने एनसेलले जनाएको छ।