रोल्पा- रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने नौ जना अझै बेपत्ता छन्।


ADVERTISEMENT


अविरल वर्षापछि माथिबाट खसेको पहिरोले कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको प्रहरीले जनाएको छ। पहिरोमा परी १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएकोमा उद्धारका क्रममा बिहीबार बिहान ७१ वर्षीया मनरखी पुन मगरको शवसमेत फेला परेको हो।


ADVERTISEMENT

# # #


पहिरोबाट उद्धार गरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा उद्धार टोली घटनास्थलमा खटिएको छ।

नेपाली सेनाको श्री सूर्यदल गणबाट प्रमुख सेनानी दीपेश खड्काको नेतृत्वमा तथा सशस्त्र प्रहरी बल आश्रित गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली पनि उद्धारमा जुटेको छ। बेपत्ता हुनेमा बालबालिकादेखि ८० वर्षसम्मका वृद्धवृद्धा रहेका छन्। घटनास्थलमा पहिरो थप खस्न सक्ने जोखिम रहेकाले उद्धार कार्य सावधानीपूर्वक अघि बढाइएको छ।