पोखरा – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन मूल्यांकन, उत्कृष्ट कर्मचारीलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजना गरेको ‘Vision to Value 2083’ कार्यक्रम सम्पन्न गरेको छ।


ADVERTISEMENT


“Empowering the Pinnacle for Elite Results” भन्ने नाराका साथ आयोजना गरिएको दुईदिने कार्यक्रम पोखराको एक होटलमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया र सञ्चालक समितिका सदस्य भरतकुमार तोदीले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर तथा उत्कृष्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर र कस्टमर सर्भिस अफिसरसहितका कर्मचारीको सहभागिता रहेको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले गत आर्थिक वर्षमा बीमाशुल्क संकलनमा हासिल भएको सफलताका लागि कर्मचारीहरूलाई बधाई दिए। उनले उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा पनि टिमवर्क र अन्तरविभागीय समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

केडियाले आगामी आर्थिक वर्षका लागि नयाँ उत्पादन तथा नवप्रवर्तन, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) गतिविधि र शाखा कार्यालयहरूको मानकीकरणलाई प्राथमिकतामा राखिने बताए। यस्ता योजनाले कम्पनीको संस्थागत प्रभावलाई थप मजबुत बनाउने उनको भनाइ थियो।

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कर्मचारीको योगदान र उपलब्धिको प्रशंसा गर्दै उत्पादन विविधीकरण तथा बजारको आवश्यकता बुझेर अघि बढ्न निर्देशन दिए। उनले कर्पोरेट सुशासन र अनुपालनलाई प्राथमिकतामा राख्दै दिगो वृद्धि तथा हितधारक मूल्य सिर्जनाप्रति कम्पनी प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्दै लक्ष्य हासिल गर्ने क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा तथा उपशाखा प्रमुख, मार्केटिङ अफिसर र कस्टमर सर्भिस एक्जुकेटिभलाई सम्मान गरिएको थियो।

दुईदिने कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीको गत आर्थिक वर्षको वित्तीय तथा व्यवसायिक तथ्यांक प्रस्तुत गर्दै चालु वर्षमा कम्पनीलाई थप उचाइमा पुर्‍याउन सबैले सक्रियताका साथ काम गर्नुपर्ने बताए। कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्ना कार्यअनुभवसमेत आदानप्रदान गरेका थिए।

सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणलाई प्राथमिकता दिँदै आएको जनाएको छ। कम्पनीले हाल देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको जनाएको छ। त्यस्तै, कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेको बताइएको छ।