काठमाडौं – पत्रकार किशोर श्रेष्ठको पक्राउको विरोध गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको छ।


ADVERTISEMENT


श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकारहरू धर्नामा बसेका हुन्। शान्तिपूर्ण रूपमा धर्ना बस्न खोज्दा प्रहरीले रोक लगाएपछि प्रदर्शनकारी पत्रकार र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो। त्यसक्रममा पत्रकारहरूले ‘प्रहरी दमन मुर्दावाद’ र ‘राज्य आतंक बन्द गर’ लगायतका नारा लगाएका थिए।


ADVERTISEMENT

# # #


प्रदर्शनमा सहभागी पत्रकारहरूले कालोपट्टी बाँधेर प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै विरोध जनाएका थिए। उनीहरूले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ तथा ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। केही प्रदर्शनकारीले बलिरहेको लाल्टिनसमेत बोकेका थिए।

नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको थियो। प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

श्रेष्ठ पक्राउ परेकै विषयलाई लिएर महासंघले आपत्ति जनाउँदै उनको तत्काल रिहाइको माग गरेको हो। यसअघि पनि महासंघ अध्यक्ष शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि पुगेर विरोध प्रदर्शन गरेको थियो।

त्यसैगरी, प्रहरीले बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको छ। महासंघले श्रेष्ठको पक्राउसँगै सञ्चारगृहमा गरिएको खानतलासीप्रति पनि आपत्ति जनाएको छ।

महासंघले पत्रकार श्रेष्ठलाई विनाशर्त रिहा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। प्रेस स्वतन्त्रता र पत्रकारको निर्भीक रूपमा काम गर्ने अधिकारमाथि कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने महासंघको भनाइ छ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन्। खोजी पत्रकारितामा लामो समयदेखि सक्रिय श्रेष्ठ निर्भीक र खरो पत्रकारका रूपमा परिचित छन्।