काठमाडौं- बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती विश्वविद्यालयअन्तर्गतको हेटौँडा क्याम्पसमा प्रथम सेमेस्टरमा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि स्वागत तथा विषय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारद्वारा कानुनबमोजिम स्थापित बागमती विश्वविद्यालयअन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रम क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरको अध्यक्षता तथा बागमती विश्वविद्यालयका उपकुलपति डा. कुसुमराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्द राम पराजुली, सञ्चालक समितिका सदस्यहरू, समाजसेवी, सहायक क्याम्पस प्रमुख, प्राध्यापक, पत्रकार तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति डा. कुसुमराज सुवेदीले उच्च गुणस्तरीय शिक्षा हासिल गर्न विद्यार्थीहरू विदेश वा अन्यत्र जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्ने विश्वविद्यालयको प्रतिबद्धता रहेको बताएका छन्।
त्यस्तै, विशिष्ट अतिथि आनन्द राम पराजुलीले हेटौँडा क्याम्पस उत्कृष्ट शैक्षिक हबका रूपमा विकास हुने विश्वास व्यक्त गर्दै नवप्रवेशी विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएका छन्।
क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै गुणस्तरीय शिक्षा आजको प्रमुख आवश्यकता भएको बताएका छन्। उनले हेटौँडा क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाका रूपमा विकास गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
क्याम्पसले स्थानीय स्तरमै सस्तो तथा सहज शुल्कमा आधुनिक पाठ्यक्रममा आधारित शिक्षा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, विद्यार्थीको अमूल्य समय बचत गर्ने उद्देश्यले छिटो नतिजा प्रकाशन गर्ने प्रतिबद्धता पनि क्याम्पसले जनाएको छ।
हाल क्याम्पसमा बीआईटी, बीएचएम, बीएड, बीबीए, बीए र एलएलबी लगायतका समसामयिक शैक्षिक कार्यक्रमहरू सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका छन्। यसबाट हेटौँडा तथा आसपासका क्षेत्रका विद्यार्थीहरूले आफ्नै गाउँठाउँमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय, प्राविधिक तथा व्यावसायिक शिक्षा हासिल गर्ने अवसर प्राप्त गरेका छन्।



























































