काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता मेलास्थल पुगेका हुन् ।


ADVERTISEMENT


तीन दिनमै ७७ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् । पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका आयोजकले जनाएको छ ।


ADVERTISEMENT

# # #


मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । विभिन्न कम्पनीले नयाँ–नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै अवलोकनकर्तालाई आकर्षित गरिरहेका छन् । विकल्प धेरै भएकाले आफ्नो बजेट र आवश्यकताअनुसार सवारीसाधन छनोट गर्न सहज भएको अवलोकनकर्ताले बताएका छन् ।

ललितपुरको भैंसेपाटीका विक्रम सुवेदीले मेलामा आफ्नो बजेटअनुसारका विभिन्न सवारीसाधन उपलब्ध रहेको बताए । उनका अनुसार मेलामा करिब १६–१७ लाख रुपैयाँदेखि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका चारपाङ्ग्रे सवारीसाधन प्रदर्शनीमा राखिएका छन् ।

दुईपाङ्ग्रे सवारीसाधनमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । विशेषगरी महँगा ब्रान्डका सवारीसाधनमा युवाको आकर्षण देखिएको छ ।

अवलोकनकर्ताले सवारीसाधनको ब्याट्री क्षमता, मोटर, यात्रा दूरी, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुनःबिक्री मूल्य लगायतका विषयमा विशेष चासो राखेका छन् ।

ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निःशुल्क मर्मतसम्भार तथा सहुलियत ब्याजदरमा कर्जालगायतका सुविधा उपलब्ध गराएका छन् ।

मेलामा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन् । आयोजकले मेला अवधिभर करिब डेढ लाख अवलोकनकर्ता पुग्ने अपेक्षा गरेको छ ।

एक्स्पोअन्तर्गत बिहीबार ‘सवारी आवागमनलाई वित्त तथा बीमामार्फत गतिशील बनाउने’ विषयमा नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो । उद्यमी एवं वित्तीय साक्षरता विज्ञ संजोग कोइरालाले सहजीकरण गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदी, ग्लोबल आईएमई बैंकका प्रमुख बजार अधिकृत राजा अर्याल, एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र हुलास फिनसर्भ हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुर सहभागी थिए ।

बुधबारको सिकाइ सत्रमा ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा छलफल भएको थियो । एक्स्पोको पहिलो दिन ‘लगानी तथा प्रत्यक्ष वैदेशिक लगानीमार्फत आर्थिक वृद्धिका लागि स्रोत परिचालन’ विषयमा छलफल गरिएको थियो ।

एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न विषयमा नाइमा मोबिलिटी संवाद सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको दोस्रो संस्करण साउन ३१ गतेसम्म ६ दिन सञ्चालन हुनेछ ।

एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले पनि सवारी खरिदका लागि विशेष सुविधा तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।