काठमाडौं- जेनजी पुस्ताको प्रेम, संघर्ष र मानसिक दबाबको कथा बोकेको फिल्म ‘ल्याङ ल्याङ’मा गुराँस ढकाल मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। बलिराम चौहानको निर्देशनमा बन्न लागेको यो फिल्म गुराँसको मुख्य भूमिकामा डेब्यु फिल्म हुनेछ।


ADVERTISEMENT


यसअघि विभिन्न फिल्ममा सहायक भूमिका, विज्ञापन, म्युजिक भिडियो तथा हरर फिल्म ‘मम्मी मा अभिनय गरिसकेकी गुराँसले अब ‘ल्याङ ल्याङ ’ मार्फत मुख्य भूमिकामा आफ्नो अभिनय क्षमता प्रस्तुत गर्नेछिन्। उनले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय प्रशिक्षणसमेत लिएकी छन्।


ADVERTISEMENT

# # #


पात्रका लागि उपयुक्त देखिएपछि निर्माण टिमले बुधबार गुराँसलाई औपचारिक रूपमा अनुबन्धित गरेको निर्देशक चौहानले बताएका छन्। फिल्ममा यसअघि रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।

‘ल्याङ ल्याङ’को कथा आजको युवापुस्ताको वास्तविकतासँग जोडिएको छ। प्रेमसँगै युवाले भोग्ने संघर्ष, स्वतन्त्रताको चाहना, साथीभाइबीचको सम्बन्ध र मानसिक दबाबलाई फिल्मले प्रस्तुत गर्ने निर्माण टिमको भनाइ छ। युवापुस्ताले मानसिक तनाव वा दबाब जनाउन प्रयोग गर्ने ‘ल्याङ ल्याङ’ शब्दलाई नै फिल्मको शीर्षक बनाइएको हो।

फिल्मको स्लोगन पनि आकर्षक छ—‘हरेक युवाको कथा’।

छोरी मुख्य भूमिकामा छनोट भएपछि गुराँसकी आमा तथा कलाकार रिना ढकालले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै छोरीलाई सानैदेखि कलाकार बनाउने आफ्नो सपना पूरा हुन लागेको उल्लेख गरेकी छन्।

भोलानाथ कटवालको लगानीमा स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘ल्याङ ल्याङ’ असोजको पहिलो सातादेखि छायांकनमा जाने तयारीमा छ। फिल्मको कथा बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।

हाल फिल्मको प्रि-प्रोडक्सनको काम तीव्र रूपमा भइरहेको छ भने निर्माण टिम थप एक अभिनेता छनोट गर्ने तयारीमा छ। त्यसपछि फिल्मको मुख्य कलाकारको लाइनअप पूरा हुनेछ।