जाजरकोट – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ आसपासका विभिन्न स्थानमा गएको पहिरोमा फसेका तथा बेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।
नेपाली सेनाको भवानीदल गणबाट साउन ३१ गते साँझदेखि परिचालन भएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँगको सहकार्यमा उद्धार गरिरहेको छ। हालसम्म १० जना घाइतेको उद्धार गरिएको छ भने २ मृतकको शव निकालिएको नेपाली सेनाले जनाएको छ।
पहिरोमा परेर २ जना अझै बेपत्ता रहेकाले उनीहरूको खोजी जारी छ। साथै जाजरकोटका विभिन्न तीन स्थानमा करिब ६० देखि ६५ जना मानिस फसेको र उनीहरूको उद्धार भइरहेको सेनाले जनाएको छ।
राउतेरह क्षेत्रमा मात्रै हालसम्म २० जनाको उद्धार गरिएको छ। बाँकी फसेका नागरिकको उद्धारका लागि सुरक्षा टोली निरन्तर परिचालन भइरहेको छ। निरन्तरको वर्षा र पहिरोका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।




























































