काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन्। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी भेलामा शनिबार विभिन्न विषय समेटिएका प्रस्तावमाथि छलफल भएको थियो।
भेलामा राजनीतिक, सांगठनिक, समसामयिक नीति तथा विषय, आर्थिक नीति र कानुन तथा विधानसम्बन्धी पाँच प्रस्ताव प्रस्तुत गरिएको थियो। ती प्रस्तावमाथि सहभागी प्रतिनिधिहरूलाई विभिन्न समूहमा विभाजन गरी छलफल गराइएको थियो।
समूहगत छलफलपछि टोली नेताहरूले प्रस्तावमा आवश्यक संशोधन तथा थप गर्नुपर्ने विषयबारे सुझाव दिएका थिए। प्रतिनिधिहरूबाट आएका सुझावमाथि सम्बन्धित प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि प्रस्तावहरू परिमार्जनसहित पारित गरिएको हो।
पारित प्रस्तावमा विमलेन्द्र निधिको राजनीतिक प्रस्ताव, उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव, एनपी साउदको समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव, प्रकाशशरण महतको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र रमेश लेखकको कानुन तथा विधानसम्बन्धी प्रस्ताव रहेका छन्।




























































