विराटनगर – जिल्ला कारागार मोरङमा प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले विरोध प्रदर्शन गरेका छन् । सोमबार बिहान करिब ५ बजेदेखि प्रहरीले कारागारभित्र खानतलासी थालेपछि ब्लक ‘बी’ का कैदीबन्दी छतमा चढेर प्रदर्शनमा उत्रिएका हुन् ।
खानतलासीका क्रममा प्रहरी टोलीलाई कैदीबन्दीले अवरोधसमेत गरेको बताइएको छ । प्रशासनले पटक–पटक दुःख दिने गरेको आरोप लगाउँदै उनीहरूले विरोध जनाएका छन् ।
कारागारमा विवादास्पद छविका अभिषेक गिरीका केही सहयोगीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीसँगै खानतलासी सुरु गरिएको थियो । घटनापछि कारागारको अवस्था नियन्त्रणमा लिन मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागार पुगेको छ ।
प्रशासनले भने कारागारको सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न खानतलासी गरिएको जनाएको छ । प्रदर्शनपछि कारागारको अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ ।




























































