काठमाडौं – कोशी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार बैठक जारी रहे पनि कांग्रेसले विपक्षी बेन्चमा बस्ने गरी प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ। कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९ जना सांसद छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसलाई सरकारलाई दिएको समर्थन कायम राख्दै विश्वासको मत दिन आग्रह गरेका थिए। तर, कांग्रेसले मुख्यमन्त्रीको आग्रह अस्वीकार गर्दै सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो।
समर्थन फिर्तासँगै कांग्रेस अब औपचारिक रूपमा विपक्षी भूमिकामा रहने भएको छ। यसले कोशी प्रदेश सरकारको आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने देखिएको छ।





























































