काठमाडौँ- प्रधानसेनापति अशोक राज सिग्देलले पदोन्नति भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह (इन्सिग्निया) प्रदान गरेका छन्।
सैनिक मुख्यालय (जङ्गी अड्डा) मा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति सिग्देलले पदोन्नत हुनुभएका प्राविधिक उपरथी र प्राविधिक सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।
साउन २६ गतेको निर्णयअनुसार प्राविधिक सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति हुनुभएका प्राविधिक सहायक रथी विश्वबन्धु पहाडीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
यसैगरी, प्राविधिक सहायक रथी पदमा पदोन्नति हुनुभएकी प्रमुख सेनानी डा. इन्दिरा आचार्यलाई पनि सोही समारोहमा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह सुशोभित गर्नुभयो।
उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाली सेनाका उच्चपदस्थ रथीवृन्द, सैनिक अधिकृतहरूका साथै पदोन्नति हुनुभएका सैनिक अधिकृतका परिवारजनको उपस्थिति रहेको थियो।





























































