काठमाडौं – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि लामो समयदेखि जारी धर्ना कार्यक्रम स्थगित गरिएको हो।
सहमति भएपछि सरकारले ऋणीहरूलाई उनीहरूको गन्तव्यसम्म पुर्याउन साझा यातायातका बसको व्यवस्था गरेको थियो। आज बिहान ८ः५० बजेदेखि ऋणीहरूलाई बसमार्फत घरतर्फ पठाउन सुरु गरिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको हो। घर फर्काइएका ऋणीहरूमा झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत विभिन्न जिल्लाका नागरिक रहेका छन्।
सरकार र ऋणी प्रतिनिधिबीच भएको १४ बुँदे सहमतिपछि तत्कालका लागि आन्दोलन र धर्ना कार्यक्रम रोकिएको हो। सहमतिअनुसार लघुवित्त ऋणीका समस्या समाधानका लागि सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।
यसअघि विभिन्न माग राख्दै देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त ऋणीहरू पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका थिए। वार्ताबाट सहमति जुटेपछि उनीहरूलाई सरकारले यातायातको व्यवस्था गरी सुरक्षित रूपमा घर फर्काएको हो।





























































