काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले संसदमा जनसरोकारका विषय प्रभावकारी र सशक्त रूपमा उठाउन पार्टीका नेता तथा कार्यकर्ता निरन्तर सुसूचित हुनुपर्ने बताएका छन्।


ADVERTISEMENT


एक कार्यक्रममा बोल्दै थापाले अहिले कांग्रेसको प्रमुख जिम्मेवारी सरकारका कामको निगरानी गर्नुका साथै जनताका समस्या, गुनासा र सरोकारका विषयलाई संसदसम्म पुर्‍याउनु रहेको बताए। त्यसका लागि नेता तथा कार्यकर्ता केवल राजनीतिक गतिविधिमा मात्र सीमित नभई समसामयिक, आर्थिक, सामाजिक तथा नीतिगत विषयमा अध्ययनशील र जानकार हुनुपर्ने उनको भनाइ छ।


ADVERTISEMENT

# # #


थापाले संसदमा उठाइने विषय तथ्यमा आधारित र स्पष्ट हुनुपर्नेमा जोड दिए। जनताका वास्तविक समस्या बुझेर त्यसलाई नीतिगत बहसका रूपमा संसदमा प्रस्तुत गर्न सके मात्रै प्रतिपक्षको भूमिका प्रभावकारी बन्ने उनले बताए।

उनले नेता तथा कार्यकर्तालाई बदलिँदो राजनीतिक तथा सामाजिक परिस्थितिबारे निरन्तर अध्ययन गर्न र नयाँ विषयबारे आफूलाई अपडेट राख्न आग्रह गरे। नीति निर्माणका विषयमा स्पष्ट धारणा बनाउन र संसदमा सरकारलाई प्रभावकारी ढंगले खबरदारी गर्न ज्ञान तथा सूचनाको भूमिका महत्वपूर्ण हुने थापाको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूबाट जनसरोकार तथा समसामयिक विषयमा विभिन्न सुझाव र धारणा प्रस्तुत भएका थिए। ती सुझावलाई पार्टीको नीति निर्माण तथा संसदीय भूमिकासँग जोड्दै संसदमा प्रभावकारी रूपमा उठाउने थापाले प्रतिबद्धता जनाए।

थापाले कांग्रेसले प्रतिपक्षमा रहँदा जनताका आवाजलाई प्राथमिकतामा राख्दै जिम्मेवार, रचनात्मक र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए। त्यसका लागि पार्टीभित्र अध्ययन, छलफल र संवादको संस्कारलाई थप बलियो बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन्।