काठमाडौं-  नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक विवाद तथा नेतृत्व चयनको विषय अदालतसम्म पुर्‍याउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् । उनले पार्टीको नेतृत्व चयन अदालतबाट नभई अधिवेशनमार्फत हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै चालिसेले पार्टीभित्रको विश्वास गुमेपछि अदालतको शरणमा जाने शैलीले लोकतान्त्रिक पार्टीलाई बलियो बनाउन नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘कांग्रेसको नेता को हो ? अब अदालतले तोक्नुपर्ने ? अधिवेशन रोक्ने निवेदन ?’ भन्दै उनले पार्टीभित्रको विवाद समाधानका लागि अदालतभन्दा आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

उनका अनुसार दलको नेता चयन गर्ने अधिकार पार्टीको अधिवेशनसँग हुन्छ । विशेष अधिवेशन होस् वा नियमित, नेतृत्वको अन्तिम निर्णय कार्यकर्ताको मतबाटै हुनुपर्ने उनको धारणा छ ।

चालिसेले कांग्रेसभित्र देखिएको पछिल्लो असन्तुष्टि नीति तथा कार्यक्रमसँगभन्दा पनि व्यक्तिगत राजनीतिक भविष्यसँग बढी जोडिएको दाबी गरेका छन् । पार्टीको विधान समयअनुकूल नभए संशोधन गर्न सकिने भए पनि विधानलाई नै कमजोर बनाउने अभ्यास उचित नहुने उनले बताएका छन् ।

विवाद समाधानका लागि चार उपाय

पार्टीभित्र देखिएको समस्या समाधानका लागि चालिसेले केही व्यावहारिक उपायसमेत सुझाएका छन् ।

उनले विधानले दिएको अधिकार प्रयोग गरेर केन्द्रीय समिति विस्तार गर्ने, क्रियाशील सदस्यता व्यवस्थापनका लागि सबै पक्षको विश्वास हुने संयन्त्र बनाउने, निर्वाचन प्रक्रियाप्रति आशंका भए पारदर्शी विधि अपनाउने र विश्वसनीय निर्वाचन समिति गठन गर्ने प्रस्ताव अघि सारेका छन् ।

त्यस्तै, सबै पक्षबीच सहमति कायम गरी महाधिवेशनको वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

उनले अहिलेको समस्याको समाधान महाधिवेशन रोक्नु नभई महाधिवेशनलाई थप विश्वसनीय र पारदर्शी बनाउनु भएको बताएका छन् ।

नेतृत्वप्रति असहमति राख्ने नेता तथा कार्यकर्तालाई पनि महाधिवेशनमा सहभागी भएर आफ्नो विकल्प प्रस्तुत गर्न उनले आग्रह गरेका छन् । ‘नेतृत्वप्रति असहमति छ भने महाधिवेशनमा जाऔँ, त्यहीँ विकल्प प्रस्तुत गरौँ र कार्यकर्ताको मत मागौँ’ भन्ने उनको धारणा छ ।

चालिसेको यो अभिव्यक्तिलाई कांग्रेसभित्र पछिल्लो समय देखिएको नेतृत्व विवाद र महाधिवेशनसम्बन्धी बहसका बीच महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।