काठमाडौं- प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सांसदहरूले प्रधानमन्त्रीसँग राष्ट्रियता, सीमा, सरकारको कामकारबाही तथा सरकार सञ्चालनको शैलीलगायतका विषयमा प्रश्न गर्ने तयारी गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीलाई सोधिने प्रश्नहरू संसद् सचिवालयमा दर्ता भइसकेका छन् । तर, प्रश्नोत्तर कार्यक्रम सुरु नभएसम्म ती प्रश्न सार्वजनिक नगर्ने व्यवस्था गरिएको छ । संसद् सचिवालयका अनुसार प्रश्नोत्तरलाई थप प्रभावकारी र जीवन्त बनाउने उद्देश्यले प्रश्नका विषय गोप्य राखिएको हो ।


ADVERTISEMENT

# # #


संसद् सचिवालयका अनुसार सांसदहरूले राष्ट्रियता, सीमाना, सरकारको कामकारबाही र सरकार सञ्चालनको शैलीसँग सम्बन्धित विषयमा केन्द्रित भएर प्रश्न दर्ता गरेका छन् । प्रश्नहरू विषयकेन्द्रित र समसामयिक रहेको बताइएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सभामुख डोलप्रसाद अर्याल (डीपी)ले बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन् ।

प्रधानमन्त्रीलाई प्रश्न सोध्न इच्छुक सांसदलाई सभामुखले भदौ ५ गतेसम्म प्रश्न दर्ता गर्न समय दिएका थिए । सो अवधिमा ११ जना सांसदले प्रश्न दर्ता गरेका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह प्रश्नकर्ता रहेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न गर्ने भएका छन् । नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गरेका छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली प्रश्नकर्ता रहेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्नको विषयबारे लिखित जानकारी सभामुखलाई दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार भदौ ५ गतेभित्र प्रश्न दर्ता गरिएको संसद् सचिवालयले जनाएको छ ।

बुधबारको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाउने प्रश्न र प्रधानमन्त्री बालेनले दिने जवाफप्रति राजनीतिक वृत्तसँगै आम चासोसमेत बढेको छ ।