काठमाडौं- ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार फोहोरमैला व्यवस्थापनसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै मेयर महर्जनले उपत्यकाको फोहोर व्यवस्थापन स्थानीय तहले मात्र दीर्घकालीन रूपमा समाधान गर्न नसक्ने स्पष्ट पारे । उनले संघीय सरकारले वैज्ञानिक अध्ययन तथा अनुसन्धानका आधारमा दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिए पनि काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहले छुट्टाछुट्टै फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्नु व्यावहारिक नभएको महर्जनको भनाइ छ ।

उनले विगतमा सरकारले तत्कालीन सात नगरपालिकाका लागि सिसडोलमा फोहोर व्यवस्थापनको व्यवस्था गरेको स्मरण गर्दै अहिले पनि संघीय सरकारकै नेतृत्व आवश्यक रहेको बताए ।

सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन प्रभावकारी हुन नसक्दा समस्या थप जटिल बनेको उनको भनाइ छ । सरकारले नेपवेस्ट र फिनिक्स कम्पनीसँग गरेको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता हालसम्म कार्यान्वयनमा आउन नसक्दा स्थानीय तहलाई कानुनी तथा व्यवस्थापकीय जटिलता थपिएको उनले बताए ।

सिसडोल र बञ्चरेडाँडामा फोहोरका कारण स्थानीय बासिन्दा प्रभावित भइरहेको स्वीकार गर्दै मेयर महर्जनले फोहोर र बस्तीलाई एउटै ठाउँमा राख्न नहुने बताए । प्रभावित बस्तीको स्थानान्तरण तथा वैकल्पिक फोहोर व्यवस्थापनका लागि संघीय सरकारले थप अध्ययन गरी नेतृत्व लिनुपर्नेमा उनले जोड दिए ।