काठमाडौं- नेपालमा बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भारतले थप सहयोग पठाएको छ।
भारतबाट आएको दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् प्रतिकार्य (HADR) सामग्री, औषधि र खाद्य प्याकेट नेपाललाई हस्तान्तरण गरिएको हो।
उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको जनाइएको छ। भारतले नेपालमा जारी बाढी उद्धार तथा राहत प्रयासमा सहयोग पुर्याउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमार्फत नेपाललाई आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।































































