काठमाडौँ- रसुवाबाट सुरु भएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म देशका विभिन्न जिल्लाबाट ३८९ जनाको शव फेला परेको छ।
प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै चितवनमा १३७ शव फेला परेका छन्। त्यस्तै पूर्वी नवलपरासीमा ८७, धादिङमा ३३, गोरखामा ३२, तनहुँमा २८, नुवाकोटमा २८, पश्चिम नवलपरासीमा २७ र रसुवामा १७ शव भेटिएको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको उद्धार पनि जारी छ। प्रहरीले हालसम्म ४६६ जना घाइतेको उद्धार गरिएको जनाएको छ।
विपद् प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ। जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकको खोजी, घाइतेको उद्धार तथा शव व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
बाढीबाट प्रभावित जिल्लामा ठूलो जनधनको क्षति भएपछि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विभिन्न संघसंस्था राहत र उद्धारमा सक्रिय छन्। प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा तत्काल राहत उपलब्ध गराउने कामसमेत भइरहेको छ।
प्रहरीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने र खोजी तथा उद्धार कार्य जारी रहेकाले विवरण थप अद्यावधिक हुने सम्भावना छ।































































