काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा मानवीय संकट गहिरिएको छ। बाढीबाट प्रभावित विभिन्न आयोजनामा कार्यरत तथा फसेका ८९८ जना अझै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विवरणमा उल्लेख छ।


ADVERTISEMENT


उद्धार टोलीले हालसम्म ३६१ जनालाई जीवितै उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ठूलो संख्या माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकको रहेको छ।


ADVERTISEMENT

# # #


इप्पानका अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनाबाट मात्रै २५४ जनाको उद्धार गरिएको छ। तर आयोजनाको सुरुङभित्र अझै करिब ३०० जना फसेको अनुमान गरिएको छ। उनीहरूको उद्धारका लागि थप प्राविधिक जनशक्ति आवश्यक परेपछि चीनबाट समेत विज्ञ टोली नेपाल आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

त्यस्तै, लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जना र माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाबाट ९१ जनाको उद्धार भएको छ। यी आयोजनासहित विभिन्न स्थानबाट उद्धार गरिएका व्यक्तिको संख्या ३६१ पुगेको हो।

बाढीबाट रसुवाका सात र नुवाकोटका छ जलविद्युत् आयोजना प्रभावित भएका छन्। रसुवामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, माथिल्लो मैलुङ–ए, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला आयोजना प्रभावित भएका छन्।

नुवाकोटतर्फ त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिडिल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना बाढीको चपेटामा परेका छन्।

विशेषगरी सुरुङभित्र फसेका श्रमिकको उद्धार अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ। सुरुङमा पानी, भग्नावशेष र संरचनागत जोखिमका कारण उद्धार कार्य प्राविधिक रूपमा जटिल बनेको छ।