काठमाडौं – आईएमई ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।
सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग र सहकार्यमार्फत प्रभावित समुदायलाई सम्भव भएसम्म सहयोग जुटाउन आईएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए।
विदेशमा रहेका नेपाली नागरिकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको जानकारी पनि उनले दिए।
यसैगरी, आईएमई ग्रुपले आईएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको ग्रुपले जनाएको छ।































































