काठमाडौं- भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा बेपत्ताको खोजी तथा उद्धार अभियान जारी छ। बाढीबाट प्रभावित नदी किनार, सडक र जलविद्युत् आयोजनाका क्षेत्रमा सुरक्षाकर्मी तथा प्राविधिक टोली परिचालन गरिएको छ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयका अनुसार भदौ १६ गते बिहानसम्म ३ हजार १६२ जनाको उद्धार गरिएको छ। बाढीपछि १५१ शव फेला परेका छन् भने ६१ जना घाइते भएका छन्। अझै २ हजार २५१ जना बेपत्ता रहेको प्रशासनले जनाएको छ।


ADVERTISEMENT

# # #


सबैभन्दा चुनौतीपूर्ण बनेको छ—जलविद्युत् आयोजनाका सुरुङमा भइरहेको खोजी। त्रिशुली–३ ए आयोजनाको सुरुङमा करिब १० मिटर गहिरो हिलो जमेकाले ड्रिलिङमार्फत खोजी भइरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र विद्युत् कर्मचारीसहित ९० जनाको टोली त्यहाँ खटिएको छ।

त्रिशुली–३ बी आयोजनामा हेलिकप्टरमार्फत एक्साभेटर पुर्‍याएर उद्धार कार्य अघि बढाइएको छ। त्यहाँ ४७ जनाको टोली परिचालित छ। त्रिशुली–१, हाकु, मैलुङ र चिलिमे क्षेत्रमा पनि नेपाली सेना र मित्रराष्ट्रका विज्ञ टोलीले सुरुङभित्र खोजी गरिरहेका छन्।

सुरुङभित्र जमेको बाक्लो दलदल र पानीका कारण उद्धारमा कठिनाइ भइरहेको छ। रसुवागढी र लाङटाङ क्षेत्रमा समेत सुरक्षाकर्मीले नदी तथा आसपासका क्षेत्रमा खोजी गरिरहेका छन्।

उता, बाढीले क्षति पुर्‍याएका सडक र पुल मर्मतको काम पनि अघि बढेको छ। ठूलो खोला पुलमा मर्मत तथा लेदो हटाउने काम भइरहेको छ। तादी खोलाले बगाएको बेली ब्रिज पुनःनिर्माणका लागि सर्वेक्षण थालिएको छ। वेत्रावती क्षेत्रमा नदीले सडक काटेपछि वैकल्पिक सडक पहिचान गर्ने काम भइरहेको छ।

राहत वितरणका लागि नुवाकोटका विभिन्न स्थानमा होल्डिङ सेल्टर सञ्चालनमा छन्। हेलिकप्टरमार्फत दुर्गम तथा प्रभावित क्षेत्रमा राहत सामग्री पठाइएको छ। भदौ १५ गतेसम्म २१९ संघसंस्थाबाट राहत संकलन गरी १३१ स्थानमा वितरण गरिएको प्रशासनले जनाएको छ।

यद्यपि, राहत पुगेका सबै शिविरमा स्वास्थ्य सेवा पुग्न सकेको छैन। केही स्थानमा मेडिकल टोली खटिए पनि अधिकांश शिविरमा स्वास्थ्यकर्मीको आवश्यकता देखिएको छ।

खानेपानी व्यवस्थापनका लागि देवीघाटमा बोरिङ सञ्चालन गरिएको छ भने विदुरका विभिन्न स्थानमा ट्याङ्करमार्फत पानी वितरण भइरहेको छ।

पछिल्लो २४ घण्टामा मात्रै थप २३ जनाको उद्धार र २१ शव फेला परेको छ। कोल्पु खोलादेखि मैलुङ शान्ति बजारसम्म त्रिशूली नदीको दुवैतर्फ करिब ३० स्थानमा सुरक्षाकर्मीले शव तथा बेपत्ताको खोजी गरिरहेका छन्।

बाढीपछि उद्धार र राहत अभियान तीव्र भए पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको छ।