काठमाडौं- बाढीको क्षतिबाट प्रभावित रसुवासहितका जिल्लामा फेरि वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि पर्सि बिहानसम्म रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत क्षेत्रमा मध्यम वर्षा हुनसक्ने जनाएको छ।
महाशाखाका अनुसार ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने सम्भावना छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका काम जारी रहेका बेला पुनः वर्षाको सम्भावना देखिएपछि थप सतर्कता आवश्यक देखिएको छ।
हाल नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।
यस्तै, भारतको पश्चिम बंगाल आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभावसमेत नेपालमा देखिएको महाशाखाले जनाएको छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नसक्ने तथा पहिरोको जोखिम बढ्नसक्ने भएकाले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।































































