काठमाडौं- रसुवाको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले नयाँ विकल्प अघि सारेको छ। सुरुङभित्र पुग्न कठिन भएपछि माथिल्लो भागबाटै ड्रिल गरेर उद्धारको बाटो खोल्ने प्रयास भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले सुरुङको माथिबाट खनेर ड्रिलमार्फत फसेकासम्म पुग्न सकिन्छ कि भन्ने सम्भावनामा राज्यले काम गरिरहेको जानकारी दिए।
उनले उद्धारका लागि सम्भव सबै विकल्प प्रयोग भइरहेको भन्दै अझै आशा नत्यागेको स्पष्ट पारे। सुरुङभित्र फसेका व्यक्तिहरू पानीको सहारामा जीवितै रहेको हुनसक्ने सम्भावनालाई समेत ध्यानमा राखेर सुरक्षा संयन्त्रले खोज तथा उद्धार जारी राखेको उनको भनाइ छ।
‘अझै पनि हामीले होप लुज गरेका छैनौँ,’ गृहमन्त्री गुरुङले भने, ‘माथिबाट पनि छिर्न सकिन्छ कि भनेर प्रयास भइरहेको छ। हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यहाँ काम गरिरहेको छ।’
सुरुङभित्र फसेकाहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको अवस्थामा उद्धारका लागि माथिबाट ड्रिल गर्ने विकल्पलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ। सरकारले सम्भावित सबै माध्यम प्रयोग गरेर फसेकाहरूलाई बाहिर निकाल्ने प्रयास जारी राखेको जनाएको छ।































































