काठमाडौं – रसुवाको दोसान हाइड्रोपावरमा कार्यरत सप्तरीका एकै परिवारका तीन दाजुभाइ भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन्। बोदेबर्साइन नगरपालिका–८ काचनटोलका ३५ वर्षीय शिवकुमार यादव, ३१ वर्षीय देवकुमार यादव र २५ वर्षीय सचित यादव बाढीपछि बेपत्ता भएका हुन्।
तीनैजना दोसान हाइड्रोपावरमा कार्यरत थिए। शिवकुमार सुपरभाइजर, देवकुमार इन्जिनियर र सचित ओभरसियरका रूपमा कार्यरत थिए। परिवारका अनुसार बाढी आउनुअघि मंगलबार बिहानसम्म उनीहरूसँग कुराकानी भएको थियो। त्यसपछि भने मोबाइल सम्पर्क हुन सकेको छैन।
एकै घरका तीन छोरा सम्पर्कविहीन भएपछि परिवारमा रुवाबासी छ। उनीहरू सकुशल भेटिने आशामा परिवारले खोजी तथा उद्धारका लागि सरकारसँग आग्रह गरिरहेको छ। जेठा दाइ रामकुमार यादव पनि भाइहरूको अवस्थाबारे जानकारी लिन निरन्तर प्रयास गरिरहेका छन्।
मधेश प्रदेश प्रहरीका अनुसार रसुवा बाढीपछि मंगलबार दिउँसोसम्म १६४ जना सम्पर्कविहीन रहेका छन्। ३० जना सम्पर्कमा आएका छन् भने एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाढीपछि आफन्तको अवस्था पत्ता नलाग्दा कतिपय परिवार भने थप पीडामा परेका छन्। पर्साका सोनेलाल पण्डित बाढीमा बगेको आशंकामा परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ।
एकातिर आफन्त भेटिने आशामा परिवारहरू खोजी र प्रतीक्षामा छन् भने अर्कोतिर शवसमेत फेला नपरेपछि कतिपयले परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको छ। रसुवा बाढीले निम्त्याएको मानवीय पीडा दिनप्रतिदिन थप गहिरिँदै गएको छ।































































