काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती प्रदेश संसदीय दलले १० लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका छन् ।


ADVERTISEMENT


कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र प्रदेश संसदीय दलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । दुवै रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुग्ने गरी आज मंगलबार उपलब्ध गराइएको हो ।


ADVERTISEMENT

# # #


कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, कोषाध्यक्ष डा. भद्रा पराजुली भण्डारीलगायत प्रदेश पदाधिकारी र सदस्यहरुले प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलका तर्फबाट छुट्टाछुट्टै रकमको चेक आज मंगलबार नेपाली कांग्रेस केन्द्रीय उपसभापति पुष्पा भुसाललाई केन्द्रीय कार्यालय सानेपामा हस्तान्तरण गरेका हुन् ।

कांग्रेस बागमती प्रदेशका सभापती, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं बागमती प्रदेश सरकारका निबर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सो रकम सरकारलाई हस्तान्तरण गरिनुका साथै पार्टीका सबै तहका संरचनालाई परिचालन गरी राहात, उद्धार र पुनस्थापना खटिरहेको बताएका छन्।

सभापति एव दलका नेता बानियाँका अनुसार भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको तथा चितवन, गोरखा, तनहुँ र नवलपरासीसमेत प्रभावित बनेको भन्दै कांग्रेस पार्टी बागमती कांग्रेस बागमती प्रदेश संसदीय दलले बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा पार्टीको प्रदेशदेखि वडा र टोल तहसम्मको संरचना परिचालन गरी उद्धार, राहत र पुनर्स्थापनामा सरकारी निकायसँग समन्वय गर्न पार्टी प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समन्वय समितिसमेत गठन गरिएको छ ।

समितिले रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रदेश कार्यसमिति तथा सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरी प्रभावित क्षेत्रमा आवश्यक काम अघि बढाईसकेको छ ।

कांग्रेसले प्रदेश सरकार मातहतका अस्पतालमा उपचाररत घाइतेको निःशुल्क उपचार, बिरामी तथा कुरुवाको व्यवस्थापन र खानाको व्यवस्था गर्न आग्रह गर्नुका साथै दीर्घरोगीका लागि उपलब्ध गराइँदै आएका निःशुल्क औषधिको अभाव हुन नदिनसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

बाढी प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन वैकल्पिक सडक, झोलुङ्गे पुल र बेलीब्रिज निर्माण तत्काल अघि बढाउन तथा घरबारविहीन परिवारका लागि अस्थायी र स्थायी पुनर्वासको व्यवस्था गर्न कांग्रेसले प्रदेश सरकारसँग आग्रह गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश १ हजार घर निर्माण तथा आयआर्जनका लागि सीप, प्रविधि र बीउ पुँजी हस्तान्तरण कार्यक्रमलाई बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित गर्न कांग्रेस बागमती प्रदेश पार्टी र संसदीय दलले माग गरेको छ ।

कांग्रेस बागमती प्रदेश पार्टी र कांग्रेस बागमती प्रदेश संसदीय दलले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।