काठमाडौं- नेकपा (एमाले) संघीय संसदीय दलले रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि महत्वपूर्ण निर्णय गरेको छ।
भदौ १६ गते पार्टी उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बाढीबाट भएको क्षतिको गम्भीर समीक्षा गर्दै संकटको घडीमा प्रभावित नागरिकको साथमा रहेको प्रतिबद्धता जनाएको हो।
बैठकले बाढीमा परी मृत्यु भएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजीका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न तथा फेला परेका शवको पहिचान गरी परिवारको जिम्मा लगाउन सरकारलाई आग्रह गरेको छ।
बाढीपछि भएको खोज, उद्धार, राहत र पुनःस्थापनाको कामको स्थलगत अनुगमन गर्न तथा अन्तरनिकाय समन्वय बढाउन संसद्मा रहेका सबै दलको सहभागितामा सर्वदलीय विशेष संसदीय समिति गठन गर्न पहल गर्ने निर्णयसमेत एमाले संसदीय दलले गरेको छ। यसले सरकारी कामलाई पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने एमालेको भनाइ छ।
त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्ने उद्देश्यले एमाले संसदीय दलमा रहेका प्रत्येक सांसदको १५ दिन अर्थात् मासिक पारिश्रमिकको ५० प्रतिशत रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।
बैठकले विपद्मा खोज तथा उद्धारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह, प्राविधिक टोली तथा एमाले र भ्रातृ संगठनका स्वयंसेवकप्रति समेत हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।































































