लन्डन – लन्डन बरो अफ बार्नेटका पूर्व उपमेयर तथा ‘सिभिक एमव्यासडर’ काउन्सिलर लक्ष्य गुरुङले ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नहमलाई एक पत्र पठाउँदै भीषण बाढीबाट प्रभावित नेपालका लागि मानवीय सहायता वृद्धि गर्न र ब्रिटिश गोर्खा सैनिक खटाउन माग गरेका छन्।


ADVERTISEMENT


युकेमा रहेका नेपाली समुदायको तर्फबाट पठाएको पत्रमा काउन्सिलर गुरुङले नेपालको रसुवा लगायतका उत्तरी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ब्रिटिश नागरिकहरूसहित एक हजार भन्दा बढीको ज्यान गइसकेको, ४,००० भन्दा बढी बेपत्ता भएको र बाढीले घरजग्गा र पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको उल्लेख गरे । खोजी र उद्धारको काम निरन्तर भई रहदा मृतक र हराउने मानिसहरुको संख्या दिन प्रति दिन बढदै गइरहेको अवस्था छ ।


ADVERTISEMENT

# # #


बेलायत सरकारले घोषणा गरेको ५० लाख पाउन्डको प्रारम्भिक संकटकालीन राहत सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै काउन्सिलर गुरुङले नेपाल र ब्रिटेनको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउन युके सरकारसमक्ष निम्न तीन प्रमुख माग राखेका छन् :

मानवीय सहायता र दीर्घकालीन विकास बजेटमा वृद्धि: प्रभावित समुदायका लागि खानेपानी, औषधि, खाना र अस्थायी वासस्थान जस्ता तत्काल राहतका साथै भत्किएका सडक, पुल, विद्यालय र स्वास्थ्य संस्था पुनःनिर्माणका लागि दीर्घकालीन विकास सहायता बढाउनुपर्ने।

ब्रिटिश गोर्खा टोलीको परिचालन: सन् २०१५ को विनाशकारी भूकम्पपछिको उद्धार जस्तै, यसपटक पनि अति प्रभावित उत्तरी क्षेत्रमा उद्धार, मानवीय सहायता र पुनःनिर्माणका लागि ब्रिटिस गोर्खा सैनिक टोली खटाउनुपर्ने।

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी नेतृत्व: विश्वभरको हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका केवल ०.१२ प्रतिशत मात्र भए पनि जलवायु परिवर्तनको असर भने उच्च भोग्नु परेकाले नेपाल जस्ता पर्वतीय र जोखिममा रहेका देशहरूका लागि बेलायतले विश्वव्यापी जलवायु सहकार्यको नेतृत्व लिनुपर्ने।

“बेलायतसँग यस कठिन घडीमा नेपाल र नेपाली जनताको साथमा उभिने नैतिक जिम्मेवारी र ऐतिहासिक अवसर दुवै छ,” २११ वर्षभन्दा बढीको ऐतिहासिक सम्बन्ध र गोर्खा सैनिकको योगदानको पनि भूतपूर्व गोर्खा सैनिक समेत रहेका गुरुङले पत्रमा स्मरण गरेका छन् ।