काठमाडौं – प्रतिनिधि सभाको बुधबारको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
सभामुखद्वारा प्रस्तुत विशेष प्रस्तावमा यही भदौ १० गते बुधबार आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका तटीय क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति संसद्ले शोक व्यक्त गरेको हो।
प्रतिनिधि सभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीका कारण घरबारविहीन भएका नागरिकहरूको तत्काल उचित व्यवस्थापन र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।































































