काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई यामाहा ब्लु स्ट्रिक्स मोटरसाइकल कम्युनिटीले राहत सामग्री वितरण गरेको छ।
बाढीबाट प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले ब्लु स्ट्रिक्सका सदस्यहरूले आपसमा रकम संकलन गरी करिब ९३ हजार रुपैयाँ जुटाएका थिए। संकलित रकमबाट चामल, दाल, बोतलको पानी तथा स्यानिटरी प्याडलगायत आवश्यक सामग्री खरिद गरी प्रभावित क्षेत्रमा पुर्याइएको हो।
ब्लु स्ट्रिक्सका सदस्यहरूले वर्षाका बीच राहत सामग्री प्याकिङ गरी मोटरसाइकलको समूहसँगै थप सामग्री बोकेको सवारीसाधनमार्फत प्रभावित क्षेत्रमा पुर्याएका थिए।
राहत सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टरमा वितरण गरिएको थियो। टोलीले त्यहाँ रहेका बाढीपीडित वृद्धवृद्धा तथा बालबालिकासहित प्रभावित परिवारसँग प्रत्यक्ष भेट गरी राहत सामग्री उपलब्ध गराएको थियो।
यस अभियानबारे MAW Rides Pvt. Ltd. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले ब्लु स्ट्रिक्सका सदस्यहरू सँगै मोटरसाइकल चलाउने समुदाय मात्र नभई आवश्यक पर्दा समाजलाई सहयोग गर्न पनि एकजुट हुने बताएका छन्।
उनले नेपालभर सञ्चालन हुँदै आएका सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिँदै विपद्को समयमा पनि समुदायको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाको काम जारी रहेका बेला ब्लु स्ट्रिक्सको यो पहलले सामुदायिक एकता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।































































