काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।


ADVERTISEMENT


हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष नारायण बजाजले ५१ लाख रुपैयाँको सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।


ADVERTISEMENT

# # #


रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य तथा खेतान ग्रुपका अध्यक्ष राजेन्द्र कुमार खेतानको उपस्थिति रहेको थियो।

देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय, संघसंस्था तथा निजी क्षेत्रबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको हिमालयन लाइफले जनाएको छ।

कम्पनीले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको जनाएको छ। हालको विपद्का बेला गरिएको ५१ लाख रुपैयाँको सहयोगले प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने कम्पनीको विश्वास छ।

हिमालयन लाइफले विपद्को कठिन घडीमा प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार, निजी क्षेत्र, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र सहयोग आवश्यक रहेको जनाएको छ।

कम्पनीले आगामी दिनमा पनि राष्ट्रलाई आवश्यकता परेको अवस्थामा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यसैबीच, हिमालयन लाइफ इन्स्योरेन्सले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ।