काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढीपछि खोज, राहत तथा उद्धारको कार्य तीव्र रुपमा भइरहेको छ ।


ADVERTISEMENT


त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हेलिकप्टर मार्फत खोज, राहत तथा उद्धारको कार्य गरिरहेको हो । नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीले बाढी आएको १० औं दिनसम्म ३,२०० भन्दा बढी नेपाली नागरिक तथा २७० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिसकेको जानकारी दिए । प्रभावित क्षेत्रका ७ वटै टनेलमा नेपाली सेनाको टोली परिचालन गरिएको उनले बताए ।


ADVERTISEMENT

# # #


त्रिशूली ३ ’ए’ टनेलको १७० मिटर भित्र पुगेर २ जना नेपाली नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको र खोजी कार्य जारी रहेको उनले जानकारी दिए । त्यस्तै त्रिशूली ३ ’बी’ टनेलको ३० मिटर भित्र पुगेर माटो तथा लेदो हटाउने काम भइरहेको र रसुवागढीटनेलको २७५ मिटर भित्र छिरेर खोजी तथा उद्धार कार्य अघि बढाइएको सेनाले जनाएको छ ।

महासेनानी रेश्मीले बिदुरको इन्द्रेणी घाटमा तुइन सञ्चालनमा ल्याइसकिएको तथा देवीघाटमा अर्को तुइन निर्माण भइरहेको र सँगै बेलिब्रिज बनाउने काम पनि सुरु गरिएको जानकारी दिए । हवाई उद्धारका अतिरिक्त रसुवा र धुन्चेका विभिन्न १९ स्थानमा जमिनमै फौज परिचालन गरी खोजी, उद्धार तथा राहत वितरण कार्य निरन्तर भइरहेको उनले बताए । त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले स्थानीय प्रतिनिधि र सुरक्षाकर्मीसँग छलफल गरी आवश्यकता भएका स्थानमा अत्यावश्यक सामान ढुवानी सुरु गरिएको जानकारी दिए ।

नुवाकोटलाई केन्द्र बनाएर रसुवा लगायतका क्षेत्रमा खाद्यान्न मात्र नभई लत्ताकपडा, औषधि तथा अन्य आवश्यक उपकरणहरू वितरण गर्ने व्यवस्था मिलाइएको उहाले जानकारी दिए । रेग्मीले राहत सामग्री ढुवानी र वितरणका लागि २ वटा हेलिकप्टर ’डेडिकेटेड’ रूपमा परिचालन गरिएको तथा शव व्यवस्थापन तथा सम्बन्धित कामको लागि छुट्टै २ वटा हेलिकप्टरको व्यवस्था गरिएको बताए ।

साथै उनले बाढीका कारण अवरुद्ध सडकहरू खुलाउन सडक विभागसँग छलफल गरी साना तथा ठूला सवारी साधन सञ्चालनयोग्य बनाउन तीव्र गतिमा काम भइरहेको जनाए । बेत्रावती तथा अन्य आवश्यक स्थानहरूमा बेलिब्रिज राख्ने काम अघि बढाइएको उनको भनाइ छ । उनले विपद् प्रतिकार्यमा संघ , प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षमता अनुसार समन्वय गरेर काम गरिरहेको उल्लेख गरे ।