काठमाडौं – यही भदौ १० गतेको विनाशकारी बाढीले त्रिशूली नदी आसपासका पुल तथा सडक संरचनामा क्षति पुर्याएपछि नुवाकोटका विभिन्न क्षेत्रमा अवरुद्ध बनेको आवागमन खुलाउन नेपाली सेनाले अस्थायी पुल निर्माणलाई तीव्रता दिएको छ।
विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माण गरिरहेको हो। बाढीले पुरानो पुल तथा सडक संरचनामा क्षति पुर्याएपछि स्थानीय बस्ती र प्रभावित क्षेत्रमा यातायात सहज बनाउने उद्देश्यले सेनाले पुल निर्माण अघि बढाएको जनाएको छ।
निर्माणाधीन एक्रो ब्रिज ६० मिटर लामो र ५ दशमलव ५ मिटर चौडा हुनेछ। पुलले अधिकतम ५० टनसम्म भार थेग्न सक्ने क्षमता राख्नेछ। पुल निर्माण सम्पन्न भएपछि देवीघाटसहित आसपासका बस्तीमा रोकिएको यातायात सञ्चालनमा आउने र स्थानीयको दैनिक आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
बाढीपछि क्षतिग्रस्त सडक तथा पुल संरचना तत्काल सञ्चालनमा ल्याउन नेपाली सेनाले प्रभावित क्षेत्रमा अस्थायी संरचना निर्माणलाई प्राथमिकता दिएको छ।
































































