ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा श्रीकृष्ण पूजा तथा रथयात्रा आयोजना गरिएको छ। स्थानीय मौलिक संस्कृति, परम्परा र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
रथयात्रामा स्थानीयवासी, महिला तथा पुरुष समूह, बाजागाजा तथा विभिन्न सांस्कृतिक झाँकीसहित सहभागी भएका थिए। कृष्णको प्रतिमा सजाएर निकालिएको रथयात्राले वडा क्षेत्रको विभिन्न स्थान परिक्रमा गरेको थियो। कार्यक्रममा सहभागीहरूले धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम शेरा टोल विकास संस्था तथा शेरा दाफा मंका खलःको आयोजनामा भएको हो। कार्यक्रममा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई मौलिक कला, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
कार्यक्रमका लागि महालक्ष्मी नगरपालिका वडा नम्बर ७को आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ। वडा नम्बर ७ का वडा अध्यक्ष बाबुराजा महर्जनले कार्यक्रमबारे हिमालय पोस्टलाई जानकारी दिँदै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए। उनले मौलिक संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तासम्म यसको निरन्तरता कायम गर्न स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य गर्दै जाने बताए।
श्रीकृष्ण पूजा तथा रथयात्राले महालक्ष्मी–७ मा धार्मिक आस्था मात्रै नभई स्थानीय समुदायबीचको एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई समेत थप बलियो बनाएको छ।



































































