काठमाडौं – आजको प्रतिनिधि सभाको बैठकमा नेपाल कानुन आयोग र मेलमिलापसम्बन्धी विधेयकमाथि छलफल हुने भएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गतको ५१औं बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। त्यसपछि सोही विधेयक सभामा प्रस्तुत गरिनेछ ।
यस्तै मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूचीमा उल्लेख छ । त्यसैगरी सन्धिसम्बन्धी कार्यअन्तर्गत एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स–काली) को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि सभासमक्ष पेस गरिनेछ ।
































































