काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनालाई फरक–फरक कोणबाट हेरेर दोषीलाई छुट दिन नहुने बताएका छन्। उनले घटनामा राज्यको भूमिका होस् वा आन्दोलनका क्रममा भएको हिंसा र ध्वंस—सबै पक्षमाथि निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका हुन्।
बीपी जन्म जयन्ती स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २३ गते शान्तिपूर्ण रूपमा अघि बढेको आन्दोलनमाथि भएको राज्य दमनको सत्य बाहिर ल्याउनुपर्ने बताए। आन्दोलनभित्र घुसपैठ गरी हिंसा भड्काउनेहरू को थिए भन्ने पनि अनुसन्धानबाट स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
त्यसैगरी, भदौ २४ गते सिंहदरबार, अदालतलगायत राज्यका महत्वपूर्ण सार्वजनिक संरचनामाथि भएको आगजनी, तोडफोड र ध्वंसलाई कुनै पनि बहानामा सामान्य रूपमा लिन नहुने थापाले बताए। घटनाको आवेगलाई अपराधको आवरण बनाउन नहुने भन्दै उनले दोषी देखिए जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
भदौ २४ गते आफ्नै घरसमेत जलेको स्मरण गर्दै थापाले व्यक्तिगत पीडाभन्दा त्यतिबेला ज्यान गुमाएका र घाइते भएका युवाको पीडा निकै ठूलो रहेको बताए। त्यसैले घटनालाई व्यक्तिगत क्षति वा राजनीतिक प्रतिशोधका रूपमा नभई राज्यको जवाफदेहितासँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ।
‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ,’ थापाले भने।
सरकारले भदौ २४ गतेको घटनाबारे निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले अनुसन्धानको प्रगति सार्वजनिक गर्नसमेत माग गरेका छन्। साथै, भदौ २३ गतेको घटनाबारे गरिएको अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनले बताएका छन्।
थापाले भदौ २३ गते दमन गर्ने होस्, आन्दोलनमा घुसपैठ गरी हिंसा फैलाउने होस् वा भदौ २४ गते सार्वजनिक सम्पत्तिमाथि ध्वंस मच्चाउने—कसैलाई पनि राजनीतिक पहुँच वा अन्य कुनै आधारमा उन्मुक्ति दिन नहुने स्पष्ट पारे।
उनका अनुसार, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुन सके मात्रै राज्यप्रति नागरिकको विश्वास कायम हुने र नेपाल जवाफदेही राज्य निर्माणको बाटोमा अघि बढ्न सक्नेछ।
































































