काठमाडौं – एलपी ग्यास उद्योग संघ नेपालले प्राकृतिक विपत्तिका बेला ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन उद्योगीहरूले निरन्तर काम गरिरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।


ADVERTISEMENT


संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयमा भएको बैठकमा एलपी ग्यास उद्योगीहरूप्रति गैरजिम्मेवार, गैरलोकतान्त्रिक, अमर्यादित तथा अशोभनीय अभिव्यक्ति दिइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।


ADVERTISEMENT

# # #


संघका अनुसार देशमा विभिन्न समयमा आएका विपत्ति तथा महाविपत्तिका बेला समेत एलपी ग्यास उद्योगहरूले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन अहोरात्र खटिएर आफ्नो सम्पूर्ण स्रोत–साधन परिचालन गर्दै आएका छन्।

प्राकृतिक विपत्तिका समयमा एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन आफूहरूले सक्दो प्रयास गरिरहेको अवस्थामा मन्त्रीजस्तो अभिभावकीय तथा नेतृत्वदायी भूमिकामा रहेको व्यक्तिबाट उद्योगीलाई लक्षित गरी आपत्तिजनक अभिव्यक्ति आउनु दुःखद भएको संघले जनाएको छ।

संघले ग्यास आपूर्तिसम्बन्धी समस्याको समाधान आरोप–प्रत्यारोपबाट नभई वस्तुनिष्ठ समीक्षा र समन्वयबाट गर्नुपर्नेमा जोड दिएको छ। साथै, सिलिन्डरको व्यवस्थापन, आयातमा देखिएको समस्या, मागमा आएको अचानक वृद्धि तथा पृथ्वी राजमार्गका अवरोधका कारण ग्यास बुलेट ढुवानीमा परेको असरलगायत विषयमा गम्भीर समीक्षा आवश्यक रहेको संघको भनाइ छ।

कृत्रिम रूपमा ग्यासको अभाव सिर्जना गरेको प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने संघले स्पष्ट पारेको छ। तर प्रमाणबिना ग्यास उद्योगीलाई दोषी देखाई भौतिक कारबाहीको संकेत दिनु आपत्तिजनक र उद्योगीमाथि अन्याय हुने संघको दाबी छ।

संघले कठिन परिस्थितिमा पनि उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, एलपी ग्यास उपभोक्ता तथा सरोकारवाला पक्षबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ।