काठमाडौ- काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका लागि राहत रकम हस्तान्तरण गरेका छन् ।
बिहीबार कारागारमा आयोजित एक कार्यक्रमकाबीच कैदीबन्दीका प्रतिनिधिसहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललाई ५ लाख ५१ हजार रुपैया राहत रकम हस्तान्तरण गरेका हुन् ।
उक्त रकम बैंकमार्फत ’प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् । उनले रसुवाको बाढी, नुवाकोट तथा त्रिशूली क्षेत्रमा भएको तहसनहस ’महाप्रलय’ सरहको राष्ट्रिय विपत्ति भएकाले सबैको सहयोग आवश्यक रहेको धारणा राखेका छन्।
उनले कानुनी दायराभित्र कारागारमा रहेका कैदीबन्दीहरू पनि यसै देशका नागरिक भएको र विपत्तिको यस घडीमा पीडितहरूप्रति उनीहरूको मन जोडिएको बताएका छन् । सहयोग रकम आर्थिक रूपमा जस्तो भए पनि यसको मानवीय महत्व र भावना अत्यन्त ठूलो र अमूल्य रहेको उनको भनाइ छ ।
































































