काठमाडौं- रुपन्देहीको सिद्धार्थनगरमा सञ्चालित बुद्ध रेसिडेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
सेयर निष्कासनसम्बन्धी सम्झौतामा बुद्ध रेसिडेन्सीका सञ्चालक सुनील अग्रवाल तथा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच भदौ २५ गते काठमाडौंमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।
सिद्धार्थनगरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै रहेको बुद्ध रेसिडेन्सी होटल पाँचतारे स्तरको होटल हो । होटलले विन्डह्याम होटल्स एन्ड रिसोर्ट्ससँगको साझेदारीमा ‘रामाडा बाइ विन्डह्याम’ ब्रान्डअन्तर्गत सेवा प्रदान गर्दै आएको छ ।
होटलमा १ सयभन्दा बढी सुविधासम्पन्न कोठाका साथै विवाह तथा विभिन्न समारोहका लागि ठूला बैंक्वेट हललगायतका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
































































