काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले ८ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।


ADVERTISEMENT


इन्ड्राइभले नेपाल सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ५ लाख अमेरिकी डलर बराबरको उक्त रकम योगदान गरेको हो । सहयोग रकम सेप्टेम्बर ९, २०२६ मा इन्ड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


गत अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै आएको हिमपहिरो तथा चट्टानी पहिरोका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो । बाढीका कारण घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य सार्वजनिक पूर्वाधारमा समेत व्यापक क्षति भएको छ ।

बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम जारी रहेका छन् भने बेपत्ता व्यक्तिको खोजी पनि निरन्तर भइरहेको छ । यही परिस्थितिलाई ध्यानमा राख्दै इन्ड्राइभले तत्काल राहतसँगै प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणमा समेत योगदान गर्ने उद्देश्यले सहयोग गरेको जनाएको छ ।

इन्ड्राइभका संस्थापक तथा सीईओ आर्सेन टोम्स्कीले विपद्का कारण परिवार र समुदायले गम्भीर क्षति व्यहोर्नुपरेको भन्दै प्रभावितप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । नेपाल–इन्ड्राइभ समुदायको महत्वपूर्ण हिस्सा भएकाले कठिन समयमा नेपाली नागरिकसँगै उभिन चाहेको उनको भनाइ छ ।

इन्ड्राइभले उक्त सहयोगमार्फत तत्काल राहत आवश्यक रहेका परिवारसम्म सहायता पुर्‍याउनुका साथै प्रभावित समुदायलाई सामान्य जनजीवनमा फर्काउन आवश्यक पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

यसैअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्ल्याङ्केट तथा सेनिटरी प्याडलगायतका अत्यावश्यक सामग्रीसमेत वितरण गरिएको कम्पनीले जनाएको छ ।