काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ तथा ‘सवारीसाधन कर्जा’ योजना सार्वजनिक गरेको छ ।
बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित ५ वर्षसम्म स्थिर रहने गरी वार्षिक ५.९९ प्रतिशत ब्याजदरमा सजिलो घर कर्जा योजना ल्याएको हो । त्यस्तै, व्यक्तिगत सवारीसाधन खरिदका लागि ३ वर्षसम्म स्थिर रहने गरी ५.९९ प्रतिशत वार्षिक ब्याजदरमा सवारीसाधन कर्जा योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
स्थिर ब्याजदरको अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ । ग्राहकले उक्त योजनामा सहभागी हुन नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
बैंकले ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न नयाँ बैंकिङ सेवा तथा डिजिटल सुविधासमेत सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । सिटिजन्स बैंकले हालै फोनपे क्लासिक क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
त्यस्तै, नयाँ पुस्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार फ्रीलान्सरहरूलाई लक्षित गर्दै विशेष ‘फ्रीलान्सर सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सञ्चालनमा ल्याइएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी–आर–एन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराइएको बैंकको भनाइ छ ।
सिटिजन्स बैंकले क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
हाल बैंकले देशभरका ६१ जिल्लामा २०० वटा शाखा, १६९ वटा एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
































































