काठमाडौं- नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ ।


ADVERTISEMENT


‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनी असोज १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा प्रदर्शनी आयोजना गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


आयोजकका अनुसार प्रदर्शनीमा नेपालका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत गरी १०० भन्दा बढी स्टल रहनेछन् । सबै स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि प्रदर्शन गरिनेछ ।

यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ । प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्यसमेत राखिएको छ ।

प्रदर्शनीका संयोजक रोशन भट्टराईले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो सहरीकरण प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा व्यवसायमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । उनले व्यवसाय क्षेत्रको सुस्तताले समग्र अर्थतन्त्रमा समेत प्रभाव पारेको भन्दै घरजग्गा कारोबारमा लाग्ने विभिन्न शुल्क तथा करका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको भन्दै क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र तथा सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी तथा आर्थिक शिथिलताका बाबजुद घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए । प्रदर्शनीले घरजग्गा कारोबारसँगै निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र रोजगारीलाई समेत समेट्ने उनको भनाइ छ ।

आयोजकका अनुसार प्रदर्शनीमा करिब १ करोड ४० लाख रुपैयाँ आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्पहरू समेत उपभोक्तासमक्ष प्रस्तुत गरिनेछ ।

प्रदर्शनी अवधिमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट निःशुल्क परामर्श उपलब्ध गराइनेछ । रक्तदान कार्यक्रम तथा ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

रसुवाका बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकेको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३१ लाख रुपैयाँ नगद सहयोग गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीलगायतका विषयमा नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा आर्किटेक्टको सहभागितामा सेमिनार र प्यानल छलफलसमेत आयोजना गरिनेछ ।

युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेका तथा चुनौती सामना गरिरहेका युवालाई खुला आह्वान गरी छनोट भएकालाई निःशुल्क तालिम तथा परामर्श प्रदान गरिने आयोजकले जनाएको छ ।

सन् २००० देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीमा यसपटक ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । बैंकिङ क्षेत्रमा तरलता सहज हुनुका साथै ब्याजदर घट्दो क्रममा रहेकाले उपभोक्तालाई घरजग्गा छनोट, वित्तीय निर्णय तथा सुरक्षित लगानीबारे जानकारी लिन प्रदर्शनी उपयोगी हुने आयोजकको विश्वास छ ।